जय भोलेले कमायो तीन करोड

जय भोलेले कमायो तीन करोड

काठमाडौं: फूलपातीबाट प्रदर्शनमा आएको फिल्म ‘जय भोले’ले पहिलो सातामा तीन करोड दुई लाख रुपैयाँ कमाएको छ। डिजिटल सिनेमा नेटवर्कमा बुधबार आयोजित पत्रकार सम्मेलनमा निर्माण युनिटले फिल्मले एक सातामा तीन करोडभन्दा माथि कलेक्सन गरेको रिपोर्ट सार्वजनिक गरेको हो।

फिल्मका निर्देशक अशोक शर्माले व्यापारमा पारदर्शिता हुनुपर्ने भन्दै बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको बताए। फिल्मले सोमबारसम्म तीन करोड दुई लाख ७२ हजार दुई सय ४९ रुपैयाँको ग्रस कलेक्सन गरेको डीसीएनकी डिस्ट्रिब्युसन एन्ड मार्केटिङ प्रमुख सीता मैनालीले जानकारी गराइन्। देशभरका एक सय १५ स्क्रिनमा जय भोले प्रदर्शन भइरहेको मैनालीले जानकारी गराइन्।

फिल्मले पहिलो दिनमा राम्रो कलेक्सन गर्न नसकेको निर्देशक शर्माले बताए। ‘पहिलो दिनमा जय भोलेको भन्दा छक्का पञ्जा ३ हेर्न आउनेको चाप बढी थियो’, उनले भने। फिल्मले आफ्नो लगानी उठाइसकेको र अब नाफा कमाउन थालेको शर्माले जानकारी दिए।

दर्शकसँगै बसेर फिल्म हेर्दा सोचेको भन्दा फरक प्रतिक्रिया आएको बताउँदै शर्माले भने, ‘फिल्म राम्रो बनेकाले दर्शकले मन पराए।’ फिल्मको कथावस्तुसँगै मनोरञ्जनको पाटो मिसाइएकाले दर्शकले मन पराएको उनले बताए। फिल्ममा कमीकमजोरी भएको स्वीकार्दै शर्माले यसको सम्पूर्ण जिम्मेवारी आफैंले लिने र अर्को फिल्ममा ती कमीकमजोरी सुधार्ने बताए। फिल्म एक करोड ३५ लाखको लगानीमा बनेको हो।

Source annapurnapost

Share