छक्का-पञ्जा ३: विषय गहिरो, प्रस्तुति अधकल्चो

छक्का-पञ्जा ३: विषय गहिरो, प्रस्तुति अधकल्चो

अत्यन्तै गम्भीर विषयवस्तुको उठान गरेर कमजोर प्रस्तुतिको प्रतिफलका रूपमा आएको छ, नया“ फिल्म ‘छक्कापञ्जा ३’। नेपाली राजनीति, शिक्षा, समाज र व्यक्ति विशेष नै भ्रष्टीकरण भइरहेको यथार्थ विषयलाई मियो बनाएको छ, फिल्म ‘छक्कापञ्जा ३’ ले। नेपालमा व्यक्ति–व्यक्ति भ्रष्ट भइरहेका छन्, जसले गर्दा सिंगो समाज भ्रष्ट बन्दै गइरहेको छ। यसले नेपालको हरेक क्षेत्रलाई नै असर गरिरहेको छ र त्यसको परिणाम पनि देखिन थालिसकेको छ।

फिल्मले नेपाली शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई उजागर गर्न खोजेको छ र प्रयास गर्दा त्यसलाई असल ट्र्याकमा ल्याउन सकिन्छ भन्ने सन्देश दिन खोजेको छ। फिल्मले उठाएको विषयवस्तु र दिन खोजेको सन्देश फिल्मको सबैभन्दा सकारात्मक पक्ष हो। तर, त्यो विषयवस्तुलाई प्रस्तुत गर्न बुनिएको कथा फिल्मको सबैभन्दा कमजोर पक्ष हो।

छानिएको विषय शक्तिशाली छ, दिन खोजिएको सन्देशको भावना प्रशंनीय छ, तर कथाले ती तमाम कुरालाई टीठलाग्दो बनाइदिएको छ। यद्यपि, ‘छक्कापञ्जा’ सिरिजका पछिल्ला संस्करणभन्दा यसले आफँैमा सुधार गरेको छ।

विद्यालयको स्तर निर्धारण गर्न सरकारले केही सूचक तय गरेको छ। त्यसैका आधारमा विद्यालयले पाउने सुविधा तथा अनुदानको व्यवस्था गर्ने गरेको छ। नेपालका अधिकांश सरकारी विद्यालयहरूको आफ्नै भवन छ, प्रशस्त जमिन छ, तालिमप्राप्त शिक्षक छन्। तर, नतिजा निराशाजनक छ। त्यसको तुलनामा अधिकांश निजी विद्यालय भाडाका घरमा सञ्चालित छन्, खुला जमिन छैन, तालिमप्राप्त शिक्षक छैनन्, तर नतिजा अनुकरणीय छ। तर, यसो भनिरह“दा कतिपय सरकारी विद्यालय पनि छन्, जसका कारण नजिकका निजी विद्यालय बन्द हुने अवस्थामा पनि पुगेका छन्। फिल्म लेखकले यी दुुवै खाले यथार्थलाई पनि नजरअन्दाज नगरेको भए पनि सुगन्ध थपिने थियो।

फिल्मका चरित्रहरूको चित्रात्मक व्याख्या कतै अतिरञ्जनात्मक छ भने कतै अस्पष्ट। हो, सरकारी विद्यालयका शिक्षकहरूले अपेक्षाकृत नतिजा दिन सकेका छैनन्। तर, शतप्रतिशत शिक्षक नै खराब छन् भन्ने किसिमले जुन कथानक बुनिएको छ, त्यसले कथालाई कमजोर बनाएको छ। सबैभन्दा कमजोर र अस्पष्ट चरित्र विद्यालयका प्रधानाध्यापकलाई बनाइएको छ। विद्यालय सुधारका लागि प्रधानाध्यापककै छोरी उजेलीलाई शहरबाट गाउँ पुर्‍याइने क्लिसे प्रयोग गरिएको छ। तर, उनको चरित्रसँग यति निर्मम चलखेल गरिएको छ कि त्यो चरित्र नै अलमलमा परेको छ।

छानिएको विषय शक्तिशाली छ, दिन खोजिएको सन्देशको भावना प्रशंनीय छ, तर कथाले ती तमाम कुरालाई टीठलाग्दो बनाइदिएको छ। यद्यपि, ‘छक्कापञ्जा’ सिरिजका पछिल्ला संस्करणभन्दा यसले आफूमा सुधार गरेको छ।

मानिसको विवाहको निर्णय अत्यन्तै महत्वपूर्ण हुन्छ। तर, उजेलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्षका छोरा राजासँग विवाह गर्ने निर्णयमा अति नाटकीयताको उपयोग गरेको छ, जुन स्वाभाविक छैन र दर्शकले पनि विश्वास गर्दैनन्। फिल्मभरि उनीहरूको सम्बन्धको आवश्यकता र उपयोगिता देखिँदैन र सम्बन्ध स्थापित पनि हुँदैन। यद्यपि, उनीहरूलाई पतिपत्नी मान्न भने दर्शक विवश छन्। काठमाडौँमा राम्रो टेलिभिजनमा समाचार वाचिकाका रूपमा कार्यरत र त्यो कामबाट पनि असन्तुष्ट भएर अस्ट्रेलिया जान खुट्टा उचालेकी युवती गाउँको विद्यालयमा पढाउन उद्यत हुनु स्वाभाविक छैन।

उजेलीको चारित्रीकरणमा निर्माण पक्ष असफल भएको छ। सरकारी विद्यालयमा हम्मेसि शिक्षक भइहाल्ने अवस्था हुँदैन। भइहाले पनि स्वयंसेवी शिक्षक मात्र हुन सक्छ। वा, बढीमा करारमा नियुक्त गर्न सक्छ, त्यो पनि विद्यालय व्यवस्थापन समितिको निर्णयले, प्रधानाध्यापकले होइन। प्रतिकूल व्यवस्थापन समिति हुँदाहुँदै उजेलीको शिक्षिकाका रूपमा पदार्पण हुनु सम्भव छैन। पछि उनको खारेजीका लागि विद्यालय हडतालको अवस्थामा पुग्नु भनेको क्लिसे मात्र हो। असम्भव नियुक्ति पाएकी उनले स्थायी शिक्षकलाई हानेको थप्पड हडताल गर्नकै लागि मात्र गरिएको अस्वाभाविक प्रयास मात्र हो।

फिल्ममा राजा चरित्रलाई अतिरञ्जनात्मक बनाइएको छ। फिल्मको विषयवस्तुस“ग जुन ठ्याक्कै मेल खाँदैन। कथा र पटकथाकार दीपकराज गिरीले त्यो लोभ नगरेको भए फिल्ममा अलि सुगन्ध थपिने थियो। फिल्मको विषयवस्तु एकातिर छ राजा भने दक्षिण भारतीय फिल्मका जादुई हिरोजस्तो ‘राजा …. राजा’ भन्ने पृष्ठसंगीतसहित प्रवेश गर्छन्, जसले विषयवस्तुको गम्भीरतालाई कमजोर बनाउन मद्दत गरेको छ।

फिल्ममा अर्को एउटा शक्तिशाली चरित्र छ, माग्ने बुढाकी बहिनी गमलीको। तर, उनको चरित्रको शक्ति नबुझेर हो वा लाइमलाइटका कलाकारलाई मात्र महत्व दिइएर हो, त्यो चरित्रबाट फिल्मले सम्भावना हुँदाहुँदै पनि फाइदा लिनबाट चुकेको छ। उनलाई केन्द्रीय चरित्रको भूमिकामा न्याय गर्न सकेको भए फिल्मकै स्तर कहाँ पुग्ने थियो, त्यसको हेक्का निर्माण पक्षलाई नभएको महसुस हुन्छ।

फिल्ममा नेपालका प्रायः सबै कमेडी टेलिशृंखलाका कलाकारहरूको भीड छ। सहकर्मीलाई सम्झिएर स्थान दिनु निर्माता–निर्देशकको सदाशयता स्मरणीय छ, तर उनीहरूलाई न्याय भने हुन सकेको छैन।

कलाकारका रूपमा दीपकराज गिरी उनको सिरिजका निरन्तरता हुन्, नयाँ उनले केही गर्न सकेका छैनन्। यसले उनको सीमा यति नै हो कि भन्ने महसुस हुन थालेको छ। त्यसै गरी जितु नेपाल, बुद्धि तामाङ र केदार घिमिरे पनि उही गह्राका उत्पादन मात्र हुन्। उनीहरूमा पनि नयाँ केही छैन। जयनन्द लामाले बरु फिल्ममा प्राण हालेका छन्। स्वस्तिमा खड्का र प्रियंका कार्कीलाई अघिल्ला संस्करणको सफलताको धन्यवाद दिन मात्र राखिएको छ।

लक्ष्मी गिरीलाई उपयोग गर्न सकिएन। नीर शाहको अभिनयमा प्रायः नाटकीयता बढी हुन्छ। तर, ‘छक्का-पञ्जा ३’ मा भने उनको अभिनयमा स्वाभाविकता झल्किएको छ। वसन्त भट्ट चरित्र र चारित्रीकरणमा अत्यन्तै स्वाभाविक छन्। मन्त्रीका रूपमा रमेश रञ्जन झा ‘शत्रु गते’ कै चरित्रमा दोहोरिएका छन्। शिशिर बाङ्देललाई जति गराइएको छ, त्यो राम्रै छ। तर, उनको चरित्र अस्पष्ट छ।

‘छक्का पञ्जा ३’ लाई दर्शकले मन पराइरहेका छन्। तर, त्यति मात्र असल फिल्मको मानक हुन सक्दैन। त्यो एउटा तत्व हुन सक्छ। यत्तिको सफलताले मात्तिने गल्ती नगरे आगामी दिनमा यो टिमबाट अझै राम्रो फिल्म आउने अपेक्षा गर्न सकिन्छ।

फिल्मका कलाकारमा दीपिका प्रसाईं सबैभन्दा कमजोर देखिन्छन्। उनले अभिनयमा अलि–अलि प्रयास गरेर पुग्दैन। अभिनय गर्नु खेलाँची होइन भन्ने जतिसक्दो चा“डो बुझेको राम्रो ! फिल्ममा उनलाई सपाट देखिएको छ। उनले गरेको भूमिका फिल्मको सबैभन्दा शक्तिशाली र केन्द्रीय चरित्र हो तर उनको अभिनय त कमजोर छँदै छ, उनलाई जसरी प्रस्तुत गरिएको छ, त्यो पनि फितलो छ।

‘छक्का-पञ्जा’ र ‘छक्का-पञ्जा २’ भन्दा यसमा निर्माण पक्ष सुधारिएको महसुस हुन्छ। संयमित पनि पाइन्छ। फिल्ममा जयनन्द लामालाई चरित्रको रूपमा राजनीतिले जनजातिलाई गरेको उपयोग उत्कृष्ट छ। जनजातिका रूपमा उनको सोझोपनलाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ। विद्यालयको पृष्ठभूमिमा उपयोग गरिएको देखाइए पनि सिंगो नेपाली राजनीतिले जनजातिलाई यसरी नै उपयोग गर्दै आइरहेको छ।

फिल्ममा सिनेमाटोग्राफीले मनोरञ्जन नै दिन्छ। कतिपय ठाउँमा ड्रोनको प्रयोग राम्रो देखिएको छ भने कतिपय प्रयोग अनावश्यक छ। दृश्यहरूले आँखालाई शीतलता प्रदान गर्छन्। फिल्मका गीत अघिल्ला फिल्ममा जस्ता कर्णप्रिय छैनन्। र, राखिएका पनि स्वाभाविक लाग्दैनन्। जबर्जस्ती ठुसिएका छन्, जसका कारणले फिल्म सकिँदासम्म ती बिर्सिइसक्छन्।

फिल्मको अन्त्य सबैभन्दा अविश्वसनीय छ। अहिले हाम्रा छिमेकमा पनि सन्देशमूलक फिल्म बनाएर व्यापार र बौद्धिक उचाइ हासिल गरिरहेको उदाहरण पाइन्छ। ‘छक्कापञ्जा ३’ मा पनि सन्देश दिने अभीष्ट राखिएको छ। तर, विषयवस्तुको गहिराइसम्म पुग्न नसकेकाले बलात् थोपरिएको असल सन्देश स्वाभाविक लाग्दैन। नेपाली फिल्मको आम चरित्र रहेको गहिराइमा नपुग्ने अधकचल्ट्याइँको शिकार ‘छक्का पञ्जा ३’ पनि भएको छ।

‘छक्का पञ्जा ३’ लाई दर्शकले मन पराइरहेका छन्। तर, त्यति मात्र असल फिल्मको मानक हुन सक्दैन। त्यो एउटा तत्व हुन सक्छ। यत्तिको सफलताले मात्तिने गल्ती नगरे आगामी दिनमा यो टिमबाट अझै राम्रो फिल्म आउने अपेक्षा गर्न सकिन्छ। फिल्मले अन्य कुरा केही नसोच्ने दर्शकलाई मनोरञ्जन दिन सक्छ। हिजो नेपाल टेलिभिजनको स्क्रिनमा देखिने हास्य शृंखलाका कलाकारहरू सम्मिलित यो फिल्म ती टेलिशृंखलाभन्दा माथि छ।

Source annapurnapost

Share