माथिल्लो तामाकोसीको सेयर बाँडफाँट, कति माग्नेलाई कति कित्ता ?

माथिल्लो तामाकोसीको सेयर बाँडफाँट, कति माग्नेलाई कति कित्ता ?

काठमाडौं : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले बुधबार स्थानीयबासीलाई सेयर बाँडफाँट गरेको छ । धितोपत्र बाँडफाँट नियमावली–२०७४ अनुसार आयोजनाले बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी बाँडफाँट गरेको हो ।

स्थानीय आवेदकलाई न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता सेयर वितरण गरिएको हो । आयोजना अतिप्रभावित ‘क’ वर्गका स्थानीयले ३० देखि १०० कित्ता माग गर्ने आवेदकले मागबमोजिम पाए भने ११० देखि ३०० कित्ता माग गर्नेले १०२ कित्ताका दरले सेयर बाँडफाँट गरिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

स्थानीयका लागि मात्र खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आईपीओ) न्यूनतम ३० देखि अधिकतम १०२ कित्ताका दरले वितरण गरिएको छ । सेयर निष्कासन गरेको करिब तीन महिनापछि कम्पनीले आवेदनका आधारमा सेयर बाँडफाँट गरेको हो ।

‘ख’ वर्गका ३० कित्ता माग गर्नेलाई ३०, ४० माग गर्नेलाई ३२ र ५० देखि ३०० सम्म माग गर्नेलाई ४८ कित्ता सेयर वितरण गरेको आयोजनाले जनाएको छ । यस्तै ‘ग’ वर्गका ३० कित्ता माग गर्ने साना लगानीकर्ताले ३०, ४० माग गर्नेले ३२ र सोभन्दा माथि माग गर्नेले ३४ कित्ता सेयर पाएका छन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाका लागि असार १६ देखि भदौ २१ गतेसम्म एक करोड पाँच लाख ९० हजार कित्ता सेयरका लागि निवेदन आह्वान गरेको थियो ।

सर्वसाधारणलाई बिक्री गर्ने कुल दुई करोड ६४ लाख ७५ हजार कित्तामध्ये एक करोड पाँच लाख ९० हजार कित्ता स्थानीयलाई छुट्याइएको सेयरका लागि दुई लाखभन्दा बढीले आवेदन दिएका थिए ।

बिहीबारदेखि सर्वसाधारका लागि १५ प्रतिशत सेयर आवेदन खुला गरिएको आयोजनाको निर्माण ९७ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

Source annapurnapost

Share