लक्ष्मीपूजाकै दिन २० लाख रुपैयाँको केराको बोट बिक्यो

लक्ष्मीपूजाकै दिन २० लाख रुपैयाँको केराको बोट बिक्यो

वीरगन्ज  : तराई–मधेसमा दीपावलीको साँझ घर र पसलको ढोकामा केराको बोट ठड्याएर लक्ष्मीको स्वागत गर्ने चलन छ । दीपावलीका दिन घरघरमा केराको बोटको प्रयोग अनिवार्य हुने भएकाले बजारमा लक्ष्मीपूजाका दिन यस्को खरिदबिक्री हुन गरेको छ ।

वीरगन्ज बजारमा बुधबार लक्ष्मी पूजाका दिन मात्रै करिब २० लाख रुपैयाँ बराबरको केराको बोट किनबेच भएको छ । लक्ष्मीपूजाका दिन वीरगन्जको बजारमा रौतहट र बाराको ग्रामीणा भेगका किसान र व्यपारीहरुले केराको बोट ल्याएर बिक्री गर्दै आएका छन् ।

बुुधबार पनि वीरगन्जमा ४० भन्दा बढी ट्रयाक्टरमा ल्याइएको करिब २४ हजार थान केराको बोट खरिद बिक्री भएको छ । रौतहटको बौधीमाई नगरपालिकाको बंकुल र राजपुर नगरपालिकाको बैरियाबाट मात्रै ११ लाख ७० हजार भन्दा बढीको २६ ट्रयाक्टर केराको बोट बिक्री गरेको बंकुलका व्यपारी महेन्द्र सहनीले बताए ।

यस्तै बाराको बरियापुर र सिम्रौनगढबाट पनि बुधबार वीरगन्जमा एक दजर्न भन्दा बढी ट्रयाक्टरमा केराको बोट बिक्रीका लागि ल्याइएको थियो । बंकुलका व्यपारी सहनीका अनुसार एक ट्याक्टरमा ६ सय भन्दा बढी केराको बोट ओसार्ने गरिन्छ । वीरगन्जमा बुधबार एउटा केराको बोट ७५ रुपैयाँमा बिक्री भएको सहनीले बताए ।

‘एउटा ट्याक्टरमा ६ सयजति बोट अट्छ’, बुधबार बिहान वीरगन्जको घण्टाघर छेउमा केराको बोट बेच्दै गरेका सहनीले भने,‘केराको बोटा जोडको एक सय ५० रुपैयामा बिक्री गरिरहेको छु ।’

गाँउमा किसानको खेतबाट भने आफुले केराको बोट प्रति गोटा ६ देखि सात रुपैयाँमा खरिद गरेको भन्दै सहनीले भने,‘ट्याक्टर भाडा मात्रै सात हजार पर्छ, दुई दिन काट्न समय लाग्छ, भाडा र मजदुरी सबै कटाएर एक ट्याक्टरमा १५ देखि १६ हजार रुपैयाँ नाफा भएको छ ।

धार्मिक कार्यका लागि केराको खम्बालाई पवित्र वनस्पति मानिन्छ । केराको बोटको खम्बा शुभ र  मंगलको चिज भएकोले धनकी देवी लक्ष्मीको स्वागतका लागि ढोकामा राख्ने चलन रहेको कर्मकाण्डी ब्राम्हण अजय त्रिवेदीले बताए  ।

Source annapurnapost

Share