प्राधिकरणमा चम्कियो राष्ट्रिय झण्डा, रंगीचंगी बत्तीले झिलिमिली

प्राधिकरणमा चम्कियो राष्ट्रिय झण्डा, रंगीचंगी बत्तीले झिलिमिली

काठमाडौं : तीन वर्षअघिसम्म नेपाल विद्युत् प्राधिकरणको लथालिङ्ग अवस्थासँगै देशभर लोडसेडिङको चरम समस्या थियो । भएकै बिजुली पनि कर्मचारीहरूले कमिशन लिएर उद्योगहरूलार्इ बेच्थे, हुनेखानेकहाँ डबल लाइनबाट पनि बिजुली उपलब्ध गराइन्थ्यो ।

राजधानी उपत्यकामै दीपावलीका दिन आधा सहर केही उज्यालो हुन्थ्यो त अर्को आधा सहर अन्धकारमय । प्राधिकरणले भार थेग्न नसक्ने भन्दै केही वर्षअघिसम्म झिलिमिली बत्ती नबाल्द उर्दी नै जारी गर्थ्यो ।

तर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी कुलमान घिसिङले सम्हालेसँगै परिस्थिति फेरिएको छ । उनी कार्यकारी निर्देशक भएपछि रातारात बिजुली बढेको छैन, पचास सय मेगावाट थपिएको पनि छ तर त्यो भन्दा बढी त माग नै छ ।

यस्तो अवस्थामा प्राधिकरणले गत वर्षदेखि लोडसेडिङको मार हटाउँदै नेपालीहरूको दीपावली साँच्चिकै उल्लासमय बनाउने बाचालार्इ व्यवहारमै लागू गर्यो । कुलमानको नेतृत्वमा प्राधिकरणले गत वर्षदेखि दीपावलीमा लोडसेडिङ नगर्ने बाचा गर्यो । त्यो बाचा यो पटक उसले देशैभर पुरा मात्रै गरेन आफ्नै केन्द्रीय कार्यालय पनि झकिझकाउ बनायो ।

केही वर्षअघिसम्म पत्रिकामै सूचना निकालेर बत्ती नबाल्न उर्दी गर्ने प्राधिकरण वास्तवमै फेरिएको झल्को लक्ष्मीपूजाको राति उसको केन्द्रीय कार्यालय अगाडि पुग्ने जो कसैले महसुस गर्थे । प्राधिकरणले तिहार सुरू भएदेखि नै पुरानो बसपार्क नजिकैको आफ्नो केन्द्रीय कार्यालय सजाएको हो ।

कुलमान आफू स्युचाटारस्थित भार प्रेषण केन्द्रमा देशभरको बिजुली आपूर्तिको अवस्था अनुगमन गर्न खटिएका बेला यता प्राधिकरणको केन्द्रीय कार्यालयमा भने बिजुलीबाटै नेपालको राष्ट्रिय झण्डा फहराइरहेको थियो ।

कलात्मक ढंगले प्राधिकरणको केन्द्रीय कार्यालयमा सजाइएको राष्ट्रिय झण्डा चम्किरहँदा त्यहाँ अगाडि पुग्ने जो कसैको छाति गर्बले फुल्थ्यो । प्राधिकरणले राष्ट्रिय झण्डासँगै केन्द्रीय कार्यालयलार्इ रंगीचंगी बत्तीले पनि झकिझकाउ बनाएको थियो ।

प्राधिकरणमा उपत्यकामै फरक र कलात्मक बत्ती सजाइएपछि त्यहाँ पुग्ने जो सुकै एक पटक अडिएर रमिता हेर्थे । केही भने चम्किरहेको राष्ट्रिय झण्डालार्इ पृष्ठभूमिमा राखेर सेल्फी लिइरहेका हुन्थे । राष्ट्रिय झण्डासँगै प्राधिकरणमा उसकै लोगो र विभिन्न स्वरूपका बत्ती जगमगाइरहेका छन् ।

Source annapurnapost

Share