जुम्लामा दुर्घटनामा परेको ताराको जहाजले पाँच महिनापछि उडान थाल्यो

जुम्लामा दुर्घटनामा परेको ताराको जहाजले पाँच महिनापछि उडान थाल्यो

जुम्ला : दुर्घटनामा परेर क्षतिग्रस्त तारा एयरको एउटा जहाजले मर्मत गरेर करिब पाँच महिनापछि उडान भरेको छ ।

गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर तारा एयरको जहाज दुर्घटना भएको थियो । आवश्यक मर्मतपछि सो जहाज बिहीबार काठमाडौँका लागि उडान भरेको छ ।

तारा एयरलाइन्सको ९ एन एइभी कलसाइन भएको जहाज दुर्घटना भएपछि जुम्ला विमानस्थलमा पार्किङ गरेर राखिएको थियो ।

नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले विमानस्थलको धावन मार्गमा परीक्षण गरेपछि काठमाडौँका लागि जहाजले उडान गरेको बताएका छन् ।

‘जहाजलाई क्याप्टेन प्रभाकर घिमिरे र अर्का क्याप्टेन आइआर जोशीले उडान गरेका छन्,’ उनले भनेका छन् । एक महिनादेखि क्यानडा र स्विट्जरल्याण्डका प्राविधिक जुम्लामै आएर जहाजको मर्मत गरेका थिए ।

‘जहाज उडाउनुभन्दा अघि त्यसको अवस्थाको परीक्षण भएको थियो’, शर्माले भने,’इन्जिनियर र क्याप्टेनको टोलीले जहाज उडान भर्न योग्य देखेपछि काठमाडौँका लागि उडान गरिएको हो ।’

गत जेठ २६ गते क्याप्टेन जेके निरौला र कोपाइलट हिम्मत रोकायाले उडाएको जहाज जुम्ला विमानस्थलमा अवतरण गराउँदा टायर पञ्चर भएपछि दुर्घटना भएको थियो ।

Source  annapurnapost

Share