रुँदै बिदा भए वायने रुनी

रुँदै बिदा भए वायने रुनी

काठमाडौँ : इङ्ल्यान्डका चर्चित स्ट्राइकर वायने रुनीले आफ्नै देशको वेम्ब्ली स्टेडियमबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल करिअर टुंग्याएका छन् ।

अमेरिकाविरुद्ध च्यारिटी म्याचमा १० नम्बर जर्सी लगाएर जेजे लिङ्गार्डको स्थानमा कप्तानका रुपमा उत्रिएका रुनी इङ्ल्यान्डलाई ३–० ले जिताउँदै बिदा भएका हुन् । खेलको सुरुवातमा भने कप्तानको जिम्मेवारी म्यानचेस्टर सिटीका फाबियन डेल्फले गरेका थिए ।

३३ मिनेट मैदानमा बिताएका उनी आफ्नो बिदाइ म्याच सकिएपछि रुँदै मैदानबाट बाहिरिए । बिदाइ म्याचका क्रममा प्रतिक्रिया दिँदै रुनीले यो पटक विश्वकपको सेमिफाइनलसम्म पुगेको इङ्ल्यान्डका लागि युवा खेलाडीले अबको केही वर्षमा विश्वकप जिताउन सक्ने विश्वास व्यक्त गरे ।

अमेरिकाको डिसी युनाइटेडबाट व्यवसायिक फुटबल खेलिरहेका एभर्टन र म्यानचेस्टर युनाइटेडका यी ३३ वर्षीय पूर्वस्ट्राइकरले इङ्ल्यान्डका लागि १२० अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाए ।

आफ्नो खेल जीवनमा उनले इङ्ल्यान्डका लागि १२० खेलबाट ५३ गोल गरेका छन् । इङ्ल्यान्डका लागि सर्वाधिक गोलको रेकर्ड पनि रुनीसँगै छ । उनले आफ्नो रेकर्ड अर्का स्ट्राइकर ह्यारी केनले तोड्ने पनि विश्वास गरेका छन् । त्यसैगरि म्याचेस्टर युनाइटेडबाट ३९३ खेल खेलेका उनले १८३ गोल गरेको रेकर्ड छ ।

रुनीले यसअघि सन् २०१७ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । तर फुटबल एसोसियसनले उनलाई अमेरिकाविरुद्धको च्यारिटी म्याचमा बोलाउँदै गार्ड अफ अनर पनि प्रदान गरेर बिदाइ गरेको हो ।

Source annapurnapost

Share