उत्साहित छन् सन्दीप लामिछाने

उत्साहित छन् सन्दीप लामिछाने

काठमाडौं : नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अबको झन्डै वर्ष दिन देशबाहिरै हुनेछन्, विदेशी लिग क्रिकेट खेल्न । पछिल्लो समयका अत्यन्तै व्यस्त क्रिकेटर सन्दीपले नयाँ स्वरूपको टीटेन लिग खेल्न आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नुअघि आफू उत्साहित रहेको बताएका छन् ।

उनले आफूले पाउने सबै अवसरमा धेरैभन्दा धेरै मेहनत गर्नेसमेत बताए । ‘आइतबार टीटेन लिग खेल्न यूएई जाँदै छु । टीटेन लिग छोटो ओभरको खेल हुनेछ । यसले डेथ ओभरको अनुभव दिनेछ’, सन्दीपले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यसबाट बिग बास लिग र आईपीएलजस्ता ठूला प्रतियोगिताअघि डेथ ओभरको बलिङ सिक्ने अवसर पनि हुनेछ । त्यसैले उत्साहित छु ।’

सन्दीपले आईपीएलको नयाँ सिजनमा समेत आफूले अघिल्लो सिजनको भन्दा अझ राम्रो प्रयास गर्ने बताए । ‘फेरि पनि एउटा राम्रो अवसर पाएको छु । अहिलेसम्म विदेशी फ्रान्चाइज लिगहरूमा जसरी मेहनत गरेको छु, त्यसमा भएका केही गल्ती र कमजोरीसमेत सुधार गरेर अझ राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु’, सन्दीपले आफ्नो योजना सुनाए, ‘सकेसम्म धेरैभन्दा धेरै विकेट सेलेब्रेसन गर्ने प्रयास गर्नेछु ।’

गत बिहीबार मात्रै आईपीएल टोली दिल्ली डेयर डेभिल्सले सन् २०१९ को सिजनका लागि समेत सन्दीपलाई रिटेन (सुरक्षित) गरेको थियो । सन्दीपले नयाँ सिजनका लागि आफूले पाउने रकमका बारेमा भने अझै निश्चित नभइसकेको बताए । ‘यस विषयमा धेरै जिज्ञासा आइरहेका छन् । खासमा यसबारेमा अहिले नै निर्णय भइसकेको छैन’, सन्दीपले भने, ‘नयाँ सिजनको अक्सनको समयमा थाहा हुनेछ सायद । मलाई जानकारी भएसँगै त्यसबारेमा तपाईंहरूलाई पनि जानकारी गराउनेछु ।’

पछिल्लो समय प्रायः अन्तर्राष्ट्रिय क्रिकेट लिगमा अनुबन्धित भइरहेका सन्दीप टीटेन लिगपछि अस्टे«लियन बिग बास लिग, बंगलादेश प्रिमियर लिग (बीपीएल) र आईपीएल खेल्न देशबाहिरै हुनेछन् । उनी टीटेन लिग खेलेर डिसेम्बर ३ मा स्वदेश फर्कने छन् । त्यसपछि ललितपुर प्याट्रिवट्सबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल)का दुई खेल खेल्ने सम्भावना छ । त्यसपछि बिगबास लिग खेल्न उनीअस्ट्रलियातर्फ प्रस्थान गर्नेछन् । बिग बास लिगको सिजन चल्दै गर्दा उनी बीपीएल खेल्न बंगलादेश पुग्नेछन् । बीपीएल सकिएपछि उनी फेरि बिग बास लिगको बाँकी खेल खेल्नअस्ट्रलिया फर्कनेछन् ।

बिगबास लिगपछि अहिले ड्राफ्टमा समावेश सन्दीप यही मंगलबार हुने अक्सनमा छनोट भए पाकिस्तान प्रिमियर लिग खेल्न फेरि (यूएई) मा हुनेछन् । त्यसपछि ईपीएलको सन् २०१९ को सिजनका लागि दिल्लीतर्फ लाग्नेछन् । उनले आगामी यात्राका लागि पनि आफ्ना समर्थकबाट निरन्तर साथ र समर्थनको आशा गरेको सुनाए ।

सन्दीपको अर्काे ‘ब्रान्ड इन्डोर्समेन्ट’

सन्दीपले फेरि अर्काे प्रायोजनको सम्झौता गरेका छन् । सर्टिङ सुटिङ कम्पनी सुट द्याट फिट्स प्रा.लि.ले सन्दीपलाई आफ्नो ब्रान्ड एम्बासडरका रूपमा घोषणा गरेको छ । सुट द्याट फिट्सले सन्दीपसँग आगामी पाँच वर्षका लागि सहकार्य गरेको जनाए पनि त्यसबापत सन्दीपले के र कति पाउने भन्नेबारे भने केही खुलाएको छैन । सन्दीप र सुट द्याट फिट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओमभक्त योगी दुवैले सम्झौता आफूहरूका लागि फलदायी हुने दाबी गरेका थिए ।

Source annapurnapost

Share