सु कीको स्कर्टिङमा रहेको मोटरसाइकल दुर्घटना, एक प्रहरी गम्भीर

सु कीको स्कर्टिङमा रहेको मोटरसाइकल दुर्घटना, एक प्रहरी गम्भीर

काठमाडौँः म्यानमारकी स्टेट काउन्सिलर आङसाङ सूकीको कारगेटको स्कर्टिङमा रहेको नेपाल प्रहरीको एउटा मोटरसाइकल गयराति राजधानीको त्रिपुरेश्वरमा दुर्घटनाग्रस्त भएको छ ।

एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएकी सूकीको कारगेट स्कर्टिङका क्रममा रहेको नेपाल प्रहरीको मोटरसाइकल त्रिपुरेश्वर चोकमा यात्रुबाहक निलो माइक्रो बससँग ठोक्किँदा एकजना प्रहरी गम्भीर घाइते भएका छन् ।

सु कीलाई सोल्टी होटलमा पुर्याएर फर्किने क्रममा बिहीबार साँझ साढे सात बजे त्रिपुरेश्वर चोकमा प्रहरीको मोटरसाइकल विपरित दिशाको बा १ ज ६५७७ नम्बरको निलो माइक्रोसँग ठोक्किए दुर्घटना भएको हो ।

स्कर्टिङका क्रममा तीब्र गतिमा रहेको मोटरसाइकललार्इ विपरित दिशाको निलो माइक्रोले ठक्कर दिएको प्रहरीको भनाइ छ । दुर्घटनाका क्रममा मोटरसाइकल पल्टिँदा त्यसमा सवार प्रहरी सहायक निरीक्षक दीपेन्द्र गुरूङ गम्भीर घाइते भएका छन् ।

उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीले अन्नपूर्ण अनलाइनलार्इ जानकारी दिए । माइक्रो बस र त्यसका चालकलार्इ प्रहरीले त्यहीँबाट हिरासतमा लिइसकेको छ ।

सुवेदीका अनुसार गुरूङको हात र खुट्टा गहिरो चोट लागेको छ । उपचार जारी रहे पनि गुरूङ अझै खतरा भन्दा बाहिर आइनसकेको सुवेदीले जानकारी दिए । उनको अवस्था अहिले पनि उस्तै छ, उपचार जारी छ सुवेदीले भने ।

भिडियो

Source annapurnapost
Share