‘हेड टु हेड च्यालेन्ज’बाट बाहिरिइन् शृङ्खला, मिस वर्ल्डको सम्भावना कति ?

‘हेड टु हेड च्यालेन्ज’बाट बाहिरिइन् शृङ्खला, मिस वर्ल्डको सम्भावना कति ?

काठमाडौँ : मिस वर्ल्ड २०१८ को ‘हेड टु हेड’ च्यालेन्जबाट नेपालकी शृङ्खला खतिवडा बाहिरिएकी छन्।

शृङ्खला सिंगापुरकी भेनेसा पहेसँग प्रतिस्पर्धामा थिइन्। भेनेसाले उत्कृष्ट प्रस्तुति दिएपछि शृङ्खला कमजोर देखिएकी हुन्।

‘हेड टु हेड च्यालेन्ज’को दोस्रो राउन्डमा २० देशका प्रतिस्पर्धी थिए। यसमा जितेको भए शृङ्खला टप ३० मा पुग्ने थिइन्। उनी टप ३० मा पुग्ने सम्भावना भने अझै बाँकी नै छ। ३० मध्ये बाँकी १७ प्रतिस्पर्धामा कुनै पनि जितेमा उनी टप ३० मा पुग्न सक्नेछिन्।

यो प्रतिस्पर्धा हारेपछि आफ्नो कमजोरी स्वीकार्दै उनले युट्युबमा भिडियो अप्लोड गरेकी छन्। भिडियोमा आफ्नो प्रस्तुतिमा भएको कमजोरीले गर्दा पराजित भएको स्वीकार गरेकी छन्।

नेपालीको माया र भोटले आफू निकै अगाडि पुगेको भन्दै उनले हारेर नेपालीलाई निराश बनाएकोमा माफी मागेकी छन्।

भेनेसाको प्रस्तुति निकै राम्रो भएकाले उनले जितेकी शृंखलाको भनाइ छ। त्यो च्यालेन्जका लागि आफूभन्दा भेनेसा नै योग्य भएको उनले स्वीकार गरेकी छन्। भेनेसा साथी भएको भन्दै उनलाई कसैले नराम्रो नभन्न शृंखलाले आग्रह गरेकी छन्।

यो प्रतिस्पर्धा जितेर टप ३० मा पुग्ने चाहाना भए पनि नसकेको उनले बताएकी छन्। ‘टप ३० मा पुग्ने अझै १७ प्रतिस्पर्धा बाँकी रहेकाले  सम्भावना बाँकी छ’, उनले भनिन्, ‘अहिले नै निराश नहुन आग्रह गर्छु।’

एक मिनेट ३० सेकेन्डको समय सीमामा आफ्ना धेरै कुरा भन्न नपाएको उनको भनाइ छ। बीचबीचमा भन्नुपर्ने कुरा छुटेकोले पराजित हुनु परेको भन्दै उनले आफ्नो कमजोरी स्वीकार गरेकी छन्।

Source annapurnapost
Share