वर्षभरिको ज्याला एकडोको मकै र एकपाथी गहुँ

वर्षभरिको ज्याला एकडोको मकै र एकपाथी गहुँ

सौतामारे(प्यूठान) : झिमरुक गाउँपालिका-१ सौतामारे प्यूठानका थम्मने विक ६५ वर्षका भए। उनले बालीघरे जीवन गुजारिरहेको करिब तीन दशक भइसक्यो। उमेरले साथ दिँदासम्म उनी यसैलाई निरन्तरता दिने सोचमा छन्। नौ छोरा, तीन छोरी र श्रीमतीसहित १४ जनाको परिवार बालीघरेबाटै उठेको अन्नले धानिएको थियो।

अहिले तीन छोरी र पाँच छोराको विवाह भइसक्यो। हाल चार छोरा र श्रीमतीलाई पाल्ने प्रमुख स्रोत यही बालीघरे बनिरहेको छ। उनी बिहानै आरनमा पुग्छन्। चिसोको मौसममा आगो ताप्दै फलाम पिट्छन। गाउँमा सात÷आठ आरन भएपनि उनकैमा बढी ग्राहक पुग्ने गर्छन्।

‘जिजु, बाजेले थालेको पेशा धानिएकै छ’,उनले भने,‘अरु पेशा गर्ने मन नै लागेन्।’ वर्षभरी काम गरेर मौसमको बेला एकडोका मकै र एकपाथी गहुँ लिने गरेको उनले जानकारी गराए। उनको खेतबारी धेरै छैन्। बालीघरेबाटै जुटेको अन्नले परिवार चलिरहेको छ। हँसिया, कोदाला, खुडा, बञ्चरो बनाउने गरेको उनले बताए। विकले एक दिनमा जसोतसो दुर्इ÷तीन वटा हसिँया बनाउन भ्याउँछन्। ‘गुजारा चलाउन गाह्रो छैन्’,विक भन्छन्,‘तर, कमाइ कत्तिपनि हुँदैन्।’

पैसा लिएर फलाम पिटाउन ग्राहक नआउने गरेको उनको अनुभव छ। गाउँका सबैले अन्नबाटै फलाम पिटाउने गरेका छन्। थम्मने विक कहाँ फुर्सेधारा, तल्लाखर्का, भुजेलबास, तालेघर र गहतेराका स्थानीयले हसियाँ पिटाउन आउने गर्छन् । फलाम तताउनका लागि उनले स्थानीय सामुदायिक वनबाट सल्लाको बोक्रा ल्याउछन् ।गाउँमा बाली भित्रिएको खबर पाएपछि उनी डोका बोकेर अन्न ल्याउन घरघरमा पुग्छन्।

सौतामारे क्षेत्रका दर्जनजति दलित समुदायका स्थानीय बुढापाकाहरु अझैसम्म बालीघरेमै आफ्नो पौरख बगाइरहेका छन्। उनीहरुको सीप नगदमा परिणत हुन सकेको छैन्। स्थानीय जनप्रतिनिधि चुनिएपनि उनीहरुले आरन पेशालाई आधुनिक बनाउनतर्फ ध्यान दिएका छैनन्।

अशिक्षा र गरिबीकै कारण उनीहरूले पेशालार्इ नयाँरूप दिन नसकेको दलित अगुवाहरू सुनाउँछन् ।पुर्ख्यौली पेशाको तरिकालार्इ छाड्न नचहाँदा थोरै अन्नमा श्रम बेच्न बाध्य भएको स्थानीय दलित समाजका अगुवा निमबहादुर सुनार बताएकाले बताए । ‘स्थानीय सरकारले नीतिगत रुपमै उनीहरुलाई माथि ल्याउने कार्यक्रम बनाउनुपर्छ’,उनले भने,‘बोलियो नीतिबीना उनीहरु परिवर्तन हुनसक्दैनन्।’

Source annapurnapost

Share