मिस मंगोलको ५० लाखको छात्रवृत्ति

मिस मंगोलको ५० लाखको छात्रवृत्ति

काठमाडौं : मिस मंगोल नेपालका विजेताले ५० लाख रुपैयाँको छात्रवृत्ति कोष घोषणा गरेका छन्। राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी मिस मंगोल नेपाल– २०१८ जाङमु शेर्पा, फस्ट रनरअप प्रीति गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पाले संयुक्त रूपमा अभियान घोषणा गरेका हुन्। आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई पढाउने उद्देश्यले छात्रवृत्ति कोष अभियान आरम्भ गरिएको उनीहरूले बताए।

सबैका लागि शिक्षा भन्ने लक्ष्यका साथ सुरु गरिएको यो कोषअन्र्तगत आगामी शैक्षिक सत्रदेखि बालबालिकालाई पढाउन सुरु गराइनेछ। पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार असहाय एवं आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई कोषमार्फत छात्रवृत्ति उपलब्ध गराइनेछ। यो छात्रवृत्ति राजधानी वा मोफसलमा अध्ययनरत विद्यार्थीलाई जुनसुकै कक्षाबाट एसईईसम्मका लागि दिइनेछ।

वार्षिक १० भन्दा बढी बालबालिकालाई पढाउने लक्ष्यका साथ सुरु गरिएको यो कोषको मुख्य स्रोत ‘डोनेसन’ र ‘फन्ड राइजिङ च्यारिटी प्रोग्राम’ हुने मिस मंगोल नेपाल २०१८ की विजेता जाङमु शेर्पाले जानकारी दिइन्। ‘मिस मंगोल नेपाल भएपछि जस्तो जिम्मेवारी र सामाजिक पहिचान पाएका छौं त्यसका लागि केही न केही काम गर्नुपर्छ भन्ने लागेर यो अभियान आरम्भ गरेका हौं’, उनले भनिन्, ‘यो कोषका लागि धेरै सहयोगी हात पाएका छौं।’

पत्रकार सम्मेलनमा फस्ट रनरअप प्रीति गुरुङले कोषलाई पारदर्शी र विश्वव्यापी बनाउन बेभसाइट निर्माण गरी सबै जानकारी राखिने जानकारी दिइन्। ‘कोषको आधिकारिक वेभसाइटमा दाताको विवरण, कोर्षमार्फत अध्ययन गर्ने छात्रछात्रा, कोषका गतिविधि सबै राख्नेछौं’, प्रीतिले भनिन्, ‘यो कोषका लागि विश्वभरका जो कोहीले अनुदान दिन र वेभसाइटमार्फत जानकारी लिन सक्नेछन्।’

कोषकी अर्की अभियन्ता एवं सेकेन्ड रनरअप पुनम शेर्पाले यो कोषमार्फत विद्यालय जान नपाएका धेरै बालबालिकाले पढ्न पाउने बताइन्। ‘प्रविधिको युगमा पढ्न पनि नपाउनु दुःखको कुरा हो। त्यसैले हामीले शिक्षा क्षेत्र छनोट गरी बालबालिकाका लागि अभियान आरम्भ गरेका हौं’, उनले भनिन्।

Source annapurnapost

Share