गुणस्तरहीन छड प्रमाणित भएपछि जगदम्बाले तिर्‍यो लाखौँको क्षतिपूर्ति

गुणस्तरहीन छड प्रमाणित भएपछि जगदम्बाले तिर्‍यो लाखौँको क्षतिपूर्ति

काठमाडौँ । बजारमा ‘देशको मेरुदन्ड’ भन्दै बिक्री वितरण र व्यापक प्रचारप्रसारमा उत्रिएको फलामे डन्डी अर्थात् छडको कम्पनी हो जगदम्बा स्टिल । बाराको सिमरामा आफ्नो विशाल फ्याक्ट्री नै खडा गरी भारी मात्रामा छडको उत्पादन गरिरहेको यस कम्पनीले देशको निर्माण गरिरहेको दाबीसमेत गर्ने गरेको छ ।

नेपाली सिनेक्षत्रमा महानायक भनेर चिनिने राजेश हमाललाई समेत जगदम्बाले आफ्नो फ्याक्ट्रीभित्रै लगेर विज्ञापनसमेत गराएको छ र विज्ञापनको स्लोगान नै  छ ‘भनेर होइन, बनेर नम्बर वान ।’

आफूलाई नम्बर वान फलामे छडको निर्माता दाबी गर्ने यही जगदम्बाको गुणस्तरको सुनिश्चितता भने ज्यादै कमजोर रहेको छ ।

मुख्यतः इनगट थ्री पटक पटक थोत्रा फलामलाई पगालेर छड बनाई बिक्री वितरण गर्ने जगदम्बाले गुणस्तरमा कम्प्रोमाइज गर्दा उपभोक्ताले कतिसम्मको सास्ती खेप्नुपर्छ भनेर आज हामी प्रस्तुत गर्दैछौँ ।

जब जगदम्बाको छड पटक–पटक भाँचियो…

साविकको त्रिपुरेश्वर ४ खहरे तथा हालको त्रिपुरासुन्दरी ७ धादिङका किरण धरेल पेसाले पर्यटन व्यवसायी हुन् । पर्यटनक्षेत्रमा लामो समयदेखि क्रियाशील धरेलले काठमाडौंको गोंगबुमा केही वर्षअगाडि घर बनाए । मित्रनगर गोंगबुमा धरेलले आफू बस्नका लागि घर बनाउँदै थिए । साढे २ तलाको नक्सापास गरी धरेलले घर बनाउन थाले ।

घर निर्माणका लागि धरेलले हात्तीपाइले हाली पहिलो डीपीसी गरिसकेका थिए । तर जब दोस्रो डीपीसीको बेला भयो, छड बङ्ग्याउँदा पटक पटक भाँचियो । सामाखुशीको विष्णु हार्डवेयरबाट किनेर ल्याएको जगदम्बाको छड एल आकारमा बङ्ग्याउने क्रममा पटक पटक भाँचियो ।

एक दुई पटक छड बङ्ग्याउँदा भाँचिएको कुरा त धरेलले सामान्य रूपमै लिएका थिए, तर जब पटक पटक छड भाँचिन थाल्यो, त्यसपछि भने धरेल आत्तिए ।

पहिले त धरेललाई मजदुरले बङ्ग्याउन नजानेर छड भाँचिएको हो कि भन्ने पनि लाग्यो । तर जब घर बनाउने ठेकेदारले छड न्यून गुणस्तरको भएकाले भाँचिएको बताए, तब भने उनी आत्तिए । जीवनमा एक पटक बनाइने घर मजबुत भएन भने त्यसले जिन्दगीभर डरमा बस्नुपर्ने स्थिति हुन्छ ।

डीपीसीका लागि एल आकारमा छड बङ्ग्याउँदा भाँचिएको बारे धरेलले घरको डिजाइन गर्ने इन्जिनियर दीपक श्रेष्ठलाई जानकारी गराए । इन्जिनियर श्रेष्ठले कुन कम्पनीको छड प्रयोग गरेको भनेर सोधे । धरेलले जगदम्बाको छड प्रयोग गरेको भनेपछि तिनै इन्जिनियरले जगदम्बाको छड कवाडीबाट बन्ने भएकाले कमजोर रहेको बताए र त्यो छड प्रयोग नगर्न सुझाए ।

जब कम्पनीले रेस्पोन्स नै गरेन…

जिन्दगीमा एक पटक बनाउने घर कसैले पनि कमजोर बनाउन चाहँदैन । तर जगदम्बाको छड अन्य कम्पनीको छडभन्दा सस्तो भएकाले धरेलले त्यही छड प्रयोग गरेका थिए । यद्यपि न्यूनतम मापदन्ड पनि पूरा नभएको र यति धेरै कमजोर नै होला भन्नेचाहिँ कल्पनासमेत गरेका थिएनन् ।

धरेलले कमजोर छड राखेर घर नबनाउने निर्णय गरे । उनले जहाँबाट छड ल्याएका थिए, त्यहाँ पैसा पनि तिरेका थिएनन् र छडको गुणस्तरको विषयमा हार्डवेयरलाई जानकारी गराए । पहिले हार्डवेयरले त्यस्तो हुनै नसक्ने भन्दै धरेललाई रेस्पोन्स नै गरेन । तर जब धरेलले छडको पैसा नतिर्ने र कानुनी उपचार खोज्ने कुरा गरे, त्यसपछि पनि हार्डवेयरले जगदम्बाको सेल्स हेर्नेसम्म कुरा पुर्याइदिए ।

जगदम्बा स्टिलको काठमाडौं सेल्स हेर्ने म्यानेजरले सुरुमा धरेलको गुनासोलाई कुनै वास्ता नै गरेनन् । तर जब धरेलले आफूले छड अझै पनि सुरक्षित राखेको र त्यसको कानुनी उपचार खोज्ने कुरा बताए, त्यसपछि भने काठमाडौँका म्यानेजर केही आत्तिए ।

ती म्यानेजर आफै धरेलको निर्माणाधीन घरमा पुगे । ठेकेदारले पहिले भाँचिएको मात्रै होइन, त्यहीँ पनि एल आकारमा छड बङ्ग्याउँदा कसरी भाँचियो भनेर देखाइदिए ।

त्यसपछि भने बल्ल ती म्यानेजरले छडमा केही कमजोरी रहेको स्वीकार गरे । छड निर्माण गर्दा कुनै कुनै लटमा त्यस्तो समस्या आउने स्वीकार गर्दै उनले प्रयोग भएको छडको पैसा नलिने र बाँकी छड फिर्ता लैजाने बताए ।

तर आफ्नै प्रयोगका लागि बनाउन लागेको घरमा कम्प्रोमाइज गर्ने पक्षमा थिएनन् धरेल । उनले हात्तीपाइलेदेखि डीपीसीमा प्रयोग गरिएको छड पनि निकाल्न चाहे । तर हात्तीपाइले निकाल्न समस्या हुने भएपछि उनी फेरि तनावमा परे । मजदुर, सिमेन्ट आदिको प्रयोग भइसकेकाले के गर्ने भन्ने अन्योलमा परे ।

जब छडमा कमजोरी रहेको स्वीकार भयो…

तर जगदम्बाको काठमाडौं म्यानेजर आफैले छडमा कमजोरी रहेको स्वीकार गरिसकेपछि धरेललाई केही आत्मविश्वास पनि आयो । आखिर कम्पनीले नै छडमा कमजोरी रहेको स्वीकार गरिसकेको छ भने किन कम्प्रोमाइज गर्ने । त्यसपछि धरेलले प्रयोग भइसकेको छड पनि निकाल्ने र राम्रो कम्पनीको छड प्रयोग गर्ने कुरा बताए ।

तर जगदम्बाको काठमाडौंस्थित म्यानेजरले हात्तीपाइलेसमेत निकालेर काम गर्दा धेरै समस्या हुने भएकाले हात्तीपाइले ननिकाल्ने बरु त्यसका लागि थप रकम क्षतिपूर्ति दिने कुरा बताए ।

किरण धरेललाई पनि कहिले घर बनाउँला र आफ्नै घरमा बसौंला भन्ने परिरहेको थियो । त्यसपछि सुरु भयो क्षतिपूर्तिको सरसल्लाह ।

सुरुमा प्रयोग भएको छडको पैसा नलिने र बाँकी छड फिर्ता लैजाने गरी प्रस्ताव ल्याएका थिए जगदम्बाको म्यानेजरले । तर धरेलले त्यो प्रस्तावमा चित्त बुझाएनन् ।

बरु धरेलले हात्तीपाइले ननिकाल्ने तर डीपीसी भत्काउने र त्यसमा प्रयोग भएको बालुवा, सिमेन्ट, मजदुरको ज्याला आदि क्षतिपूर्ति दिन माग गरे । त्यसबाहेक धरेलले मजबुतीको सुनिश्चितताको अर्को महत्त्वपूर्ण माग राखे ।

कानुनी उपचार नखोज्ने शर्तमा जगदम्बाले धरेलको सम्पूर्ण मागलाई स्वीकार गर्यो ।

करिब ७ लाखको नगद क्षतिपूर्ति

तत्कालीन समयमा धरेलले करिब २ लाख रूपैयाँको छड किनेका थिए । छडको मूल्यलाई नै हेर्ने हो भने अहिले करिब ५ लाख रूपैयाँ पर्ने छड धरेलले त्यतिबेला किनेका थिए । त्यसबाहेक सिमेन्ट, बालुवा तथा मजदुरको ज्याला गरी जगदम्बाले धरेललाई हालको मूल्यमा करिब ७ लाखको क्षतिपूर्ति दिएको धरेलले रातोपाटीलाई बताए ।

जगदम्बाले गरिदियो ५ वर्षसम्म घरको निःशुल्क इन्सुरेन्स

जगदम्बाले डीपीसीमा प्रयोग भएको र प्रयोग हुन बाँकी छड लगे पनि हात्तीपाइलेमा भने केही छडको प्रयोग भइसकेको थियो । तर धरेलको मनमा अझै पनि मजबुतीको चिन्ता थियो । जगदम्बाले भने हात्तीपाइलेमा प्रयोग भएको छडको गुणस्तर राम्रो भएको दाबी गरिरहेको थियो । धरेल भने जगदम्बाको कुरामा विश्वस्त थिएनन् ।

जगदम्बाले धरेलको चित्त बुझाउन नसकेपछि अर्को प्रस्ताव ल्यायो, ५ वर्षसम्म घरको निःशुल्क इन्सुरेन्स गरिदिने । जगदम्बाको नयाँ प्रस्तावमा भने धरेलले स्वीकारोक्ति जनाए । त्यसपछि जगदम्बा स्टिलले जमलमा रहेको एक इन्सुरेन्स कम्पनीमा धरेलको गोंगबुस्थित घरको ५ वर्षसम्मको निःशुल्क इन्सुरेन्स गरिदियो ।

बाँकी छड हिमालको प्रयोग गरेँ

जगदम्बा स्टिलको छडले अत्तालिएका धरेल त्यसपछि भने छडको गुणस्तरप्रति चिन्तित भए । छडको प्रयोग गर्दा मजबुत छड चाहिने भन्दै इन्जिनियरहरूलाई सोध्न थाले । अधिकांश इन्जिनियरले हिमाल स्टिल प्रयोग गर्न सुझाएपछि जगदम्बाभन्दा प्रतिकिलो करिब २० रूपैयाँ बढी पर्ने हिमाल स्टिलको छड प्रयोग गरेर धरेलले आफ्नो घर बनाए ।

सहमति तोडे राम्रो नहुने धम्की

जब रातोपाटीले कवाडीबाट बन्ने छडको समाचार प्रकाशन सुरु गर्यो, धरेल रातोपाटीको सम्पर्कमा आए ।

आफूले जगदम्बाको छड प्रयोग गर्दा पाएको सास्तीबारे उनले रातोपाटीलाई बताए । त्यसपछि आफू पनि आफूले भोगेको समस्याबारे भीडीयो अन्तरवार्ता दिन तयार भए । रातोपाटीसँगको पहिले भेटमा ‘भोलि’ भिडियो अन्तरवार्ता दिन तयार भएका धरेलले भोलिपल्ट बिहानै फोन गरेर डिपोले दिएको चेतावानीबारे बताए ।

रातोपाटीसँगको भेटपछि धरेलले सामाखुशीको डिपोमा पुगेर पहिलेको घटना र रातोपाटीको समाचारबारे बताएका रहेछन् । आफूले पनि रातोपाटीसँग आफ्नो विगतको अनुभव सुनाउन लागेको कुरा धरेलले बताएका रहेछन् ।

तर डिपोले पनि यो कुरा तत्कालै जगदम्बाको कम्पनीमा पुर्याएको रहेछ । गुणस्तरहीन छडको विषयमा अन्त केही कुरा नगर्ने र कानुनी उपचार नखोज्ने शर्तमा क्षतिपूर्ति दिइएको भन्दै यस्तो कुरा मिडियामा बोले पहिलेको हिसाब खोज्ने धम्की जगदम्बाले डिपोमार्फत् धरेललाई दिएका रहेछन् । तर जब रातोपाटीले कवाडी कथा र गुणस्तरहीन छडको बारेमा लगातार समाचार प्रकाशन गर्यो, त्यसपछि भने धरेलले आफ्नो विगतबारे बताउन चाहे ।

तर पहिले भिडियो अन्तरवार्ता दिन तयार भएका धरेल पछि भने अडियो कुराकानी मात्रै गर्ने पक्षमा देखिए । पछि आफूलाई समस्या आउनसक्ने भन्दै धरेलले भिडियो नभई अडियोमा मात्रै कुराकानी गर्ने बताए ।
कवाडी कथामा आफ्नो तस्बिर नराख्ने वा राखे पनि नचिन्नेगरी राख्ने शर्तमा उनले रातोपाटीसँग आफ्नो छडको कथा सुनाए र पछि समस्या परे साथ दिनसमेत आग्रह गरे ।

Source ratopati

Share